Logo

विना निष्कर्ष टुङ्गियो ‘भारु’ वार्ता, ४५ सय कि २५ हजार ?

विना निष्कर्ष टुङ्गियो ‘भारु’ वार्ता, ४५ सय कि २५ हजार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौंं । प्रतिबन्धित भारतीय रुपैयाँ (भारु) सटही सम्बन्धमा नेपाल र भारतीय प्रतिनिधि मण्डलबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । शनिवार नेपाल आएको भारतीय रिजर्भ बैंकका कार्यकारी निर्देशक दिपाली पन्त जोशीको टोलीले आइतबार नेपाली टोलीसँग छलफल गरेको थियो ।

भारतीय टोलीले यस अघि तयार पारेको मोडालिटीभन्दा वाहिर गएर प्रस्ताव ल्याएपछि वाता विना निष्कर्ष टुङ्गिएको नेपाली वार्ता टोलीका संयोजक तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए । ‘हामीले शुरु देखि नै ३ हप्ताको सुचना दिएर प्रति व्यक्ति २५ हजार भारुका दरले सहटी दिने विषयमा छलफल गर्दै आएका थियौं,’ उनले भने, ‘तर भारतीय टोलीले हिजोको वार्तामा सटही सुविधा दिने समयावधि र रकम दुबै घटाएपछि सहमति हुन सकेन ।’

हिजो भएको छलफलमा भारतीय टोलीले सटही मोडालिटीमा कडाईका साथै प्रति व्यक्ति ४ हजार ५ सय रुपैयाँमा मात्र साट्न सकिने प्रस्ताव अघि सारेका थिए । त्यस्तै ३ हप्ताको रकम संकलनको समयलाई पनि घटाएर १ हप्तामात्र दिने सकिने बताएका छन् । भारु सटही सम्बन्धमा यस अघि नेपाली टोली भारतमै गएर छलफल गरेको थियो भने भारतीय टोली पनि नेपाल आएको थियो । भारतीय पक्षले हिजो भएको वार्तामा यस अघि भएको छलफलभन्दा फरक प्रस्ताव ल्याएपछि कुनै सहमति हुन सकेन ।

शिवाकोटीका अनुसार मापदण्डमा कडाइ तथा समयावधिमा सहमति गरे पनि रकम घटाउने सम्बन्धमा भने सम्झौता गर्न नसकिने छैन । ‘उनीहरुले प्रति व्यक्ति ४ हजार ५ सयका दरले सटही सुविधा दिनेगरी हिजै सम्झौता गरौं भनेका थिए,’ उनले भने, ‘तर, उनीहरुले हाम्रो मागभन्दा एकदमै न्युन प्रस्ताव गरेपनि सम्झौता हुन सकेन ।’ नेपालीले कानुनी रुपमै प्रति व्यक्ति २५ हजार भारुसम्म राख्ने पाउने भएकाले सोही अनुरुप सुविधा दिनुपर्ने उनको तर्क थियो ।

भारु सटहीका लागि सम्बन्धित व्यक्तिले भारु आर्जन गरेको स्रोत खुलेको हुनुपर्ने, सोही अनुरुप पहिला डिक्लेरेशन गरेर बैंकमा जम्मा गर्नुपर्ने, जम्मा गरेको रकम सक्कली वा नक्कली हो त्यसको परीक्षण गरेपछि मात्र भुक्तानी दिइनेजस्ता विभिन्न प्रावधान रहेका थिए । अन्य प्रावधानमा सहमति गरेपनि रकम घटाउने विषयमा भने सम्झौता हुन नसक्ने शिवाकोटीले जानकारी दिए । ४ हजार ५ सय रुपैयाँमै सम्झौता गर्नु भनेको नेपालीको हक अधिकारको हनन गर्नुजस्तै भएको राष्ट्र बैंकको तर्क छ । रकमको विषयमा कुरा नमिलेपछि अबको वार्ता कहिले हुने, रकम साटिने वा नसाटिने भन्ने विषयमा कुनै टुङ्गो लागेको छैन ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु रहेको बताउँदै आएको थियो । तर, अहिले सो रकम बढेर ७ करोड ८५ लाख रुपैयाँ पुगेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL