Logo

अन्योलमै फर्कियो भारतीय टोली, भारु सटही टुङ्गो लागेन

अन्योलमै फर्कियो भारतीय टोली, भारु सटही टुङ्गो लागेन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रतिबन्धित भारतीय रुपियाँ सटही सम्बन्धमा छलफल गर्न आएको भारतीय टोली अन्योलमै फर्किएका छन् । प्रतिबन्धित ५ सय र १ हजारका भारु सहटी सम्बन्धमा दुई दिनसम्म छलफल भएपनि सो सम्बन्धमा कुनै ठोस निर्णय नभएको नेपाल राष्ट्र बैंकका डुपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।

नेपालमा रहेको प्रतिबन्धित भारु सटही सम्बन्धमा छलफल गर्न भारतीय रिजर्ब बैंकका प्रतिनिधि मंगलबार नेपाल आएका थिए । छलफलले त्यस्ता भारु सटही सम्बन्धमा टुङ्गो लगाउने आशा गरिएपनि अझै टुङ्गो लाग्न नसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
भारतीय प्रतिनिधि मण्डल र नेपाली टोलीबीच यस अघि नेपालले तयार पारेको मोडालिटी अनुसार भारु सटही गर्ने सम्बन्धमा छलफल भएको थियो । तर, सबै बैंक खातामा भारु जम्मा गर्दा गैरकानुनी व्यक्तिले पनि त्यसबाट फाइदा लिन सक्ने भन्दै भारतीय टोलीले नेपाली बैंकले कार्यान्वयनमा ल्याएको ‘नो योर कस्टुमर’ (केवाइसी) फर्मको वारेमा बढी चासो व्यक्त गरेका थिए । सो सम्बन्धमा भारतीय टोलीले राष्ट्र बैंकको रोहवरमा बैंकरहरुसँग पनि छलफल गरेका थिए ।

शिवाकोटीका अनुसार नेपाली बैंकको केवाइसी मापदण्ड राम्रो भएको र सोही अनुरुप अघि बढ्न सकिने विषयमा भारतीय प्रतिनिधि मण्डल केही लचक भएका छन् । तर, उक्त टोलीले दुई दिनसम्म छलफल भएको विषयमा भारतीय सरकारलाई जानकारी गराउने र उनीहरुले सहमती दिएमा मात्र साटिन सक्ने उनको तर्क छ ।

भारु सटहीको सहजीकरण गर्न मंगलबार नेपाल आएको भारतीय प्रतिनिधि मण्डल विना निष्कर्ष आज फर्कदैछ । भारतीय प्रतिनिधि मण्डलले दुई दिनसम्म नेपालको बैंङ्किङ प्रणालीको बस्तुस्थितीको बारेमा सोधपुछ गरेका थिए । भारु सटहीको लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नेतृत्वमा गठित समितिले तयार पारेको ‘डिक्लेरेशन’ फारमको विषयमा समेत छलफल भएको थियो

नेपालले भने एक नेपालीलाई २५ हजार भारुसम्म साट्न दिनुपर्ने माग राख्दै आएको छ । केही समय अघि नेपाली टोली भारतमै गएर गरेको छलफलमा भारतीय टोलीले त्यसको सीमा घटाउन माग गरेको थियो । तर, नेपालीले कानुनी रुपमै २५ हजारसम्म भारु राख्ने पाउने भएकाले छलफलमा पनि सोही अनुरुप सटही सुविधा दिने माग राखिएको शिवाकोटीले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालको बैंकिङ प्रणालीमा ७ करोड ९० लाख बराबर प्रतिबन्धित भारु नोट रहेको छ । तर, धेरै नेपाली कामदार रोजगारीका लागि भारत जाने गरेको र व्यापारमा समेत भारु प्रयोग हुने गरेकाले नेपालीसँग १५ अर्ब रुपैयाँभन्दा बढी भारतीय नोेट रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL