Logo

किन भित्रन्छ विकसित मुलुकबाट हुण्डीमार्फत रेमिट्यान्स ! कमजोरी कसको ?

किन भित्रन्छ विकसित मुलुकबाट हुण्डीमार्फत रेमिट्यान्स ! कमजोरी कसको ?


रामराजा श्रेष्ठ
54
Shares

काठमाडौं । सरकारले औपचारिक प्रणालीबाट रेमिट्यान्स भित्र्याउन पहल गरेपनि विकसित मुलुकबाट भने हुण्डीबाट भित्र्ने क्रम बढेको छ । विशेषगरी दक्षिण कोरिया, अष्ट्रेलिया तथा नेपाली कामदार बढी रोजगारीका लागि जाने अन्य मुलुकबाट हुण्डीमार्फत रेमिट्यान्स भित्र्ने गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

भर्खरै मात्र राष्ट्र बैंकले गरेको एक सर्वेक्षण अनुसार कोरियाबाट आउने रेमिट्यान्समध्ये ७० प्रतिशतभन्दा बढी रकम हुण्डीमार्फत आउने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसैगरी अष्ट्रेलियाबाट पनि अधिकांश रेमिट्यान्स हुण्डीमार्फत नै आउने गरेको छ ।

 Seoul
कतिपय विकसित देशहरुमा रेमिट्यान्स सम्बन्धी कारोवार नै नभएकाले नेपाली कामदारले हुण्डीमार्फत रेमिट्यान्स पठाउन बाध्य हुनुपरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । ‘कोरिया तथा अष्ट्रेलियाजस्ता मुलुकमा रेमिट्यान्स कम्पनीहरु नै छैनन्,’ उनले भने, ‘ती मुलुकमा सरकारले तोकेको सम्वन्धित बैंकका खाता खोलेर पैसा पठाउने पर्ने हुन्छ ।’ त्यसरी पैसा पठाउन बढी झण्झट हुने भएकाले नेपालीहरुले रेमिट्यान्स पठाउन हुण्डी प्रयोग गर्ने गरेको उनको तर्क छ ।

पण्डितका अनुसार त्यस्ता मुलुकहरुमा हुण्डीवालाहरु घर तथा कम्पनीमै गएर पैसा उठाउने गरेको र बैंक तथा अन्य कम्पनीले त्यसो गर्न नसकेकाले पनि हुण्डी कारोवार मौलाएको हो । साथै त्यसरी पठाइएका कतिपय रेमिट्यान्स नेपाल नै नआई हङ्कङ लगायत अन्य देशहरुमा गैरकानुनी रुपमा जाने गरेको स्रोतको भनाइ छ ।

नेपाली कामदार रोजगारीमा गएका कतिपय विकसित मुलुकमा रेमिट्यान्स कम्पनीको सहज उपस्थिती हुन नसकेकाले हुण्डीमार्फत रेमिट्यान्स आउने गरेको आईमएईका प्रमुख कार्यकारी अधिकृत तथा मुद्रा विप्रेषक संघका महासचिव सुमन पोखरेलले बताए । ‘बढी नेपाली कामदारको गएको विकसित मुलुक कोरियामा रेटिम कम्पनी खोल्न पाइने नियम नै छैन,’ उनले भने, ‘तसर्थ कामदारले वाध्यताबस हुण्डीमार्फत रेमिट्यान्स पठाइरहेका छन् ।’ यसैगरी अष्ट्रेलिया लगायतका अन्य मुलुकमा पनि विस्तारै बैंकको उपस्थिती हुन थालेपनि हुण्डी कारोवारीले बढी हिस्सा लिइरहेको उनको तर्क छ ।’ तर, पछिल्लो समय केही विकसित मुलुकबाट भने रेमिट कम्पनीमार्फत रेमिट्यान्स आउने थालेको उनले जानकारी दिए ।

हुण्डीमार्फत रेमिट्यान्स पठाउँदा सहज र खर्च कम लाग्ने कोरियाको रोजगारीमा कायरत कृष्ण श्रेष्ठ बताउँछन् । ‘बैंकिङ प्रणालीबाट पठाउँदा बढी झण्झटिलोका साथै खर्च पनि बढी लाग्छ,’ उनले भने, ‘तर, हुण्डीमार्फत कम खर्चमा घरबाटै पैसा लिएर पठाइदिन्छन् ।’ साथै कतिपय विकसित मुलुकमा पनि आफुलाई नजिक पर्ने स्थानमा बैंक नहुने र हुण्डीवाला घरमै जाने भएकाले सोही पद्दतीबाट पैसा पठाउने गरेको सम्बद्ध व्यक्तिहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL