Logo

पाल्पाको रामपुरमा हाइटेक पोलिहाउस निर्माण, २० वर्षसम्म प्रयोग गर्न सकिने

पाल्पाको रामपुरमा हाइटेक पोलिहाउस निर्माण, २० वर्षसम्म प्रयोग गर्न सकिने



काठमाडौं । पाल्पाको रामपुरमा उच्च प्रविधिको तरकारी टनेल (हाइटेक पोलिहाउस) निर्माण गरिएको छ । निर्वाहमुखी कृषि प्रणाली त्याग्दै उत्पादनमुखी आधुनिक प्रविधिका माध्यमबाट आम्दानीको स्रोत बढाउन उक्त हाइटेक पोलिहाउस निर्माण गरिएको हो ।

जिल्लामै सबैभन्दा ठूलो उच्च क्षमताको मानिएको यो टनेल रामपुर नगरपालिकाले कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ, ३६ मिटर चौडाइ रहेको टनेल निर्माण गरेको हो ।

प्रदेश सरकारको २५ लाख रुपैयाँ सहयोग र नगरपालिकाको ३१ लाख रुपैयाँ गरी ५६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । टनेल निर्माणको काम अन्तिम चरणमा रहेको छ । उक्त टनेल, निर्माणसँगै बेमौसमी जातको तरकारीको बिरुवा लगाउने तयारी भइरहेको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिएका छन ।

नगरपालिका स्वयंले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी राजस्व बढाउने बताएको छ । यो प्रविधिको टनेल समय समयमा मर्मतसम्भार गरिएको खण्डमा १० वर्षदेखि २० वर्षसम्म प्रयोग गर्न सकिने छ ।

‘यस टनेलभित्र तरकारी लगाउँदा गर्मीयाममा चिसो तापक्रम, थोपा सिँचाइ प्रविधि, हावामा सापेक्षिक आद्रता कायम गर्ने, घामको तापक्रम छेक्ने, किरा लाग्नबाट बचाउने गर्छ,’ प्रमुख पाण्डेयले भने, ‘कृषकलाई आधुनिक प्रविधिबारे जानकारी गराउन यस टनेलले ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ ।’

यहाँ आधुनिक प्रविधिको नयाँ टनेल निर्माण भएपछि यस क्षेत्रका कृषकमा उत्साह बढेको अगुवा कृषक सूर्यप्रसाद रेग्मीले बताए उनले भने, ‘यहीँ टनेल हेर्नको लागि पोखरा, चितवन, बुटवल, भैरहवा लगायतका विभिन्न जिल्लामा रकम खर्च गरेर पुगियो, अहिले त अब यही निर्माण भएपछि प्रविधि अवलोकनका लागि अन्यत्र जानु परेन ।’

यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल लामो समय नबिग्रियोस भनेर भण्डार गरेर राख्न करीब ३०० भन्दा बढी मेट्रिक टन क्षमताको चिस्यान केन्द्र समेत निर्माण हुने क्रममा छ । रामपुर नगरपालिका क्षेत्र कृषिको लागि सम्भावना बोकेको हँुदा पनि कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL