Logo

देशभर ९० प्रतिशत धान रोपाइँ सम्पन्न, ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान

देशभर ९० प्रतिशत धान रोपाइँ सम्पन्न, ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान


रासस
0
Shares

काठमाडौं । देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ ।

गत वर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाइँ भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँँँ भएकामा यस वर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान मन्त्रालयले गरेको छ ।

गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेकामा अहिले करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । आव २०७३÷०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको अभिलेख मन्त्रालयसँग छ ।

मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र निकै राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्वमा समेत वृद्धि भई कूल उत्पादनको ७१ प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा २९ प्रतिशत उत्पादन हुने गरेको छ । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँँँ हुने गरेको छ । मौसमको अनकूलता हुँदा उत्पादनमा पनि वृद्धि हुने गर्दछ ।

मुलुकमा १५ लाख ५२ हजार हेक्टर जमीनमा धानखेती गरिन्छ । धान उत्पादनमा करीब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतले घटबढ हुने तथ्यांक छ । ३ दशकयता धान उत्पादनको दर प्रतिवर्ष करीब ४ प्रतिशतले वृद्धि हुने गरेको पाइएको छ ।

विसं २०६६ देखि ४ वर्षसम्म धानको उत्पादनमा ४० लाख मेट्रिक टनको हाराहारीमा भएको भए पनि विसं २०७० देखि हालसम्म निरन्तर ५० लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको छ । पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकास भएका कारण उत्पादन बढेको पाइन्छ ।

स्वदेशमा उत्पादन हुने धानबाट करीब ३० लाख मेट्रिक टन खानयोग्य चामल बन्ने गर्दछ । देशभर हाल चामलको माग ३८ लाख मेट्रिक टन रहेको हुँदा सो उत्पादनमा करीब ८ लाख मेट्रिक टन चामल अपुग हुने गर्दछ । गत वर्ष करीब २६ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको अभिलेख छ ।

अर्थ्विद् राधेश्याम मालाकारले देशमा हुने उत्पादनभन्दा बढी वस्तु उपभोग गरिएमा विदेशबाट आयात बढाउनुपर्ने बताउँदै त्यसले व्यापार घाटा वृद्धि भई देशको अर्थतन्त्रमा नकारात्मक असर गर्ने जानकारी दिए । मुलुकका विभिन्न स्थानमा उत्पादन हुने गहुँ, मकै, कोदो, फापरलगायत खाद्य सामग्रीको राम्रो उत्पादन हुने गरे पनि त्यसको उपभोगमा कमी आएका कारणले चामलको आयात बढेको छ ।

देशभर गहुँ २० हजार मेट्रिक टन, मकै २३ लाख मेट्रिक टन, कोदो ३ लाख मेट्रिक टन उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL